काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“सत्तापक्षीय गठबन्धनले जेठभित्र निर्वाचन सम्पन्न गर्ने भन्ने कुरा सुन्यौं, कानूनले के भन्छ भने दलीय गठबन्धनले निर्णय गरेर हुँदैन् । सरकारको मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ । मन्त्रिपरिषदले निर्णय गरेको छैन् । त्यसैले अहिले नै हामी उत्साही हुने अवस्था छैन् । यो सरकार निर्वाचन नगर्नेतर्फ नै उद्धत छ । अहिले पनि कानून संशोधन गर्ने कुरा गठबन्धनले गरेको छ । संविधान र स्थानीय तह ऐनमा कहीँकतै द्धिविधिा छैन् ।”
सत्तापक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि उनको आरोप छ । उनले भने,“संविधानको धारा २२५ ले स्पष्ट पारेको छ । सरकार पक्षले गलत व्याख्या गरेको छ । बैशाखभित्रै निर्वाचन गर्नुपर्ने थियो । अहिले उहाँहरुले जेठमा गर्ने कुरा गर्नुभएको छ । अब जेठमा नगरेर असोजको कुरा गर्ने पनि खतरा होला । हामी भन्छौं कि बैशाखभित्रै निर्वाचन हुनुपर्छ । सरकारले मिति घोषणा गर्नुपर्छ । सरकारको नेतृत्व कांग्रेसले गरेको छ । गठबन्धनको नाममा कांग्रेसले निर्वाचन सार्ने काम नगरोस । बैशाखभित्रै निर्वाचन गर्नुपर्छ ।”
उनले निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै बैशाखमै निर्वाचन गराउन सकिने सुनाए ।उनले भने,“यो सरकारसँग प्रशस्त समय छ । समयको हिसाबले पनि कुनै प्रेसर छैन् । हामी त त्यसको माग गरिरहेका छौं । यो संविधानसँग कानून बाझियो भनेर बैशाखबाट जेठमा लैजाने भनेको पनि यो निर्वाचन सार्ने कुरा नै हो । निर्वाचन सारेर निर्वाचनमार्फत आफ्नो जनप्रतिनिधि चयन गर्ने जनताको अधिकार कुण्ठित गर्न मिल्दैन् । उहाँहरुले ऐन संशोधन गर्न खोजेको हो भने पार्लियामेन्टमा कसरी आउनुहुन्छ रु संविधानको धारा र स्थानीय तहको ऐन कुनैपनि हालतमा बाझिएको छैन् । बाझियो भन्ने कुरा नै निर्वाचन सार्ने कुरा हो ।”
सत्तापक्षीय गठबन्धन अझैपनि निर्वाचनको विषयमा शंकाको घेरामा रहेको उनको भनाई छ । उनले भने,“गठबन्धनको निर्णयले निर्वाचनको तिथि घोषणा हुँदैन् । त्यसैले क्याविनेटले मिति घोषणा गर्नुपर्छ । संसद् चल्न नदिएको होईन, अहिलेको गठबन्धनले नै सार्दै सार्दै आएको छ । सत्तापक्षीय र प्रतिपक्षीबीच वार्ता हुनुपर्छ । हामी सधैं यसको लागि तयार छौं ।”