
एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७औं वार्षिक साधारणसभाले बैंकको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
बिहीबार (२२ फागुन ) काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू स्वीकृत गरेको हो।
साधारणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक समसामयिक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। साथै, बैंक सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सम्बन्धित नियामक निकायको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ।
बैंकले पुँजी बजारको स्थायित्व, वित्तीय पहुँचको विस्तार तथा वित्तीय क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ। हाल बैंकले देशभर ३५० भन्दा बढी शाखा कार्यालय, ४७५ एटिएम, १०० वटा एक्सटेन्सन काउन्टर र ७० वटा शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ।
उक्त साधारणसभामा बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य, बैंकका उच्च पदाधिकारी तथा सेयरधनीहरू उपस्थित रहेका थिए। बैंकको आगामी रणनीति पुँजीगत संरचना मजबुत बनाउँदै वित्तीय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने रहेको बैंकका पदाधिकारीहरूले बताएका छन्।