
माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता
९ फाल्गुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जापानले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनु भयो ।
यस्तै, जापानले नेपालमा चन्द्रनगर सिँचाइ प्रणाली, उच्च जोखिममा रहेका कोशी, नारायणी, बागमतीलगायतका मुख्य नदीमा बाढी नियन्त्रणका लागि गरेको सहयोगप्रति आभार प्रकट गर्नु भयो । जापानले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको भन्दै उहाँले धन्यवाद दिनु भयो ।
मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी गर्नसमेत अनुरोध गर्नु भयो । उहाँले मन्त्रिपरिषद्बाट भर्खरै पारित भएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा सहयोग गर्नसमेत जापान सरकारलाई अनुरोध गर्नु भयो ।
भेटमा राजदूत तोरूले विश्व बैङ्कको वित्तीय व्यवस्थापनको निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको जलविद्युत् आयोजनाको विकासको प्राथमिकता हेरी सहयोग गर्ने उहाँको भनाइ थियो ।