६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
लिगमा ऐरीले जिते कार; लुम्बिनीले पायो फेयर प्ले अवार्ड
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
त्यस्तै , फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो । खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको टोलीलाई उक्त पुरस्कार दिइन्छ ।
मिलन्था बने प्लयेर अफ द म्याच
नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।
प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो । उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।
क्याच अफ द म्याच शेर मल्लले पाए । उनले २५ हजार रुपैयाँ जिते । त्यस्तै, एनर्जेटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए । उनले पनि २५ हजार रुपैयाँ पाए ।
एनपीएल : कुन टोलीले कति रुपैयाँ पाउँछ ?
नेपाल प्रिमियर लिगमा विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
त्यस्तै, दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता योसँगै समाप्त भएको छ ।
The post नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार first appeared on Khabar Breaking.