काठमाडौँ । नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनका लागि शुक्रबार (२१ मंसिर ) मनोनयन दर्ता भएको छ ।जसअन्तर्गत अध्यक्ष पदमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा चार जनाले मनोनयन दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा दुई र समावेशी उपाध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै महासचिवमा चार, खुला सचिवमा सात, महिला सचिवमा तीन र आदिवासी जनजाति सचिवमा तीन जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार:
पत्रकार महासंघको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आइतबार शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन् ।
शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।
यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासंघको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।
रमेश विष्टलाई माओवादीनिकट प्रेस सेन्टरको साथ:
महासंघको आसन्न निर्वाचनमा सत्तारुढ कांग्रेस – एमालेनिकट पत्रकारहरुको प्यानलविरुद्ध अर्को गठबन्धन बनाएर उत्रिएका माओवादीनिकट प्रेस संगठनले कांग्रेसको विद्रोही समूहलाई साथ दिने भएको छ ।
कांग्रेसनिकट प्रेस युनियनले एमालेनिकट प्रेस चौतारीसँग सहकार्य गरेपछि पार्टी सभापति शेरवहादुर देउवा पक्षधर मानिने हालका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई माओवादी,नेकपा एसलगायत साना संगठनहरुले समर्थन गरेका छन् । प्रेस सेन्टरका अध्यक्ष उम्मेदवार कमल गिरीलाई ‘ब्याक गराएर’ विष्टको नेतृत्वमा चुनावमा जान लागेको सो संगठनका नेताहरुले बताएका छन् ।
श्रमजिवी पत्रकारहरुको साझा प्यानल नाम दिइएको उक्त विद्रोही प्यानलको अध्यक्षमा रमेश विष्ट छन् भने वरिष्ठ उपाध्यक्षमा माओवादीनिकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् ।
सो प्यानलको महिला उपाध्यक्षमा गंगा बराल,समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह छन् । बराल माओवादीनिकट हुन् भने साह नेकपा एसनिकट समाजवादी प्रेस संगठनका हुन् ।
त्यस्तै महासचिवमा लेखनाथ न्यौपाने र खुला सचिवमा उत्तरसिंह विष्टको नाम सो समूहको सूचीमा राखिएको छ । महिला सचिव सरिता बराईली,एशोसियट सचिव विकास कार्की, दलित सचिव वसन्त विक,मधेशी सचिव श्रीजन झा र आदिवासी जनजाति सचिवमा भिष्ण राई तय भएका छन् । सो समूहको कोषाध्यक्ष उम्मेदवार रामकृष्ण अधिकारी र लेखा संयोजकमा धुर्व रावलको नाम तय भएको छ ।
The post पत्रकार महासंघको निर्वाचन: अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी first appeared on Khabar Breaking.