
८ सय ९२ जनाको मिर्गौला प्रत्यारोपण
भक्तपुर ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ८ सय ९२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । १० वर्षअघि स्थापित केन्द्रले हालसम्म सो संख्यामा मिर्गौला प्रत्यारोपण गरेको हो । यो संख्या यही आर्थिक वर्षभित्र ९ सय पुग्ने केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
हालसम्म भएका प्रत्यारोपणमध्ये अधिकांश प्रत्यारोपण आफन्त वा नातेदारबाट हुने गरेका छन् । त्यसबाहेक गैरनातेदारबाट समेत मिर्गौला प्रत्यारोपणका लागि साटासाट गर्नसक्ने कानुनी व्यवस्था छ । अहिलेसम्म केन्द्रले गरेका प्रत्यारोपणमध्ये ३८ वटा प्रत्यारोपण गैरनातेदारको मिर्गौला साटासाटबाट भएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
अहिले सरकारले मस्तिष्कमृत्यु भएका व्यक्तिबाट मिर्गौला लाई प्राथमिकता दिँदै आएको छ । तर अहिलेसम्म जम्मा ६ वटा मिर्गौला र एउटा कलेजो मात्रै ब्रेन डेथ भएकाबाट ट्रान्सप्लान्ट गरिएको छ ।विकसित देशहरुमा अंग प्रत्यारोपणको ८० प्रतिशत हिस्सा मस्तिष्क मृत्युबाट हुने गरेको कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ । तर नेपालमा १ प्रतिशत हिस्सा पनि यसले आगट्न सकेको छैन । यसका पछाडि जनचेतनाको अभाव नै मुख्य कारण रहेको श्रेष्ठको भनाइ छ ।
अहिलेसम्मको अवस्था हेर्दा मिर्गौला दान गरेको व्यक्ति सामान्य व्यक्तिभन्दा धेरै बाँच्ने गरेको समेत पाइएको उहाँ बताउनुहुन्छ । यसको पछाडी अंगदानपछिको स्वास्थ्य सतर्कता मुख्य कारण हुनसक्ने उहाँको भनाइ छ ।सरकारले केन्द्रलाई मिर्गौला प्रत्यारोपणलाई देशभर विस्तार गर्ने जिम्मा दिएको छ । जस अनुसार केन्द्रले पोखरामा पहिलोपटक सफल प्रत्यारोपण गरेको छ ।
असार ९ गते केन्द्रकै चिकित्सक टोलीले श्रीमानको मिर्गौला श्रीमतीको शरिरमा प्रत्यारोपण गरेको जानकारी दिँदै श्रेष्ठले नेपालको लागि यो गौरवको विषय भएको बताउनुभयो । यो ट्रान्सप्लान्टसँगै पोखरामा प्रत्यारोपणलाई निरन्तरता दिने र सबै प्रदेशमा सेवा विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।
अब हाम्रो मिसन सुर्खेत हो ,त्यसपछि पूर्वमा सेवा विस्तार गर्छौ, सरकारले दिएको सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यलाई हामी पूरा गर्दैछौं,कार्यकारी निर्देशक श्रेष्ठले भन्न्ुभयो ।
केन्द्रले आफ्नै टोली गएर प्रदेश अस्पतालका डाक्टरहरुलाई मिर्गौला प्रत्यारोपणसम्बन्धी प्रशिक्षण दिनेछ । उनीहरु सक्षम भएपछि सम्बन्धित अस्पताललाई नै यो कामको हस्तान्तरण गर्ने केन्द्रको तयारी छ ।अहिले धर्मभक्त प्रत्यारोपण केन्द्र विकास समिति ऐन अन्तर्गत स्थापित छ । सरकारले यो वर्षको बजेटमार्फत् यसलाई प्रतिष्ठानको रुपमा विस्तार गर्ने कार्यक्रम समावेश गरेको छ ।
अंग प्रत्यारोपणका लागि छुट्टै संस्था स्थापना गर्ने विश्वमा धेरै उदाहरण नभएको अवस्थामा यसलाई प्रतिष्ठानको रुपमा विकास गर्ने सरकारको उक्त नीति निकै सकारात्मक भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान सम्बद्व सबै पक्षसँग सहयोगको अपेक्षा समेत कार्यकारी निर्देशक श्रेष्ठले गर्नुभएको छ ।
source:News of Nepal