६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा १ अर्ब ७६ करोड युनिट बिजुली भारतमा निर्यात भएको हो ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘ डे–अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार हरियाणा र बिहारलाई बुजली बेच्दै आएको छ । यस अवधिमा प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु (भारतीय रुपैयाँ) आम्दानी गरेको छ ।साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरेको प्राधिकरणले मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको बिजुली निकासी गरेको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित केही जलविद्युत केन्द्रमा क्षति पुगेका कारण निर्यात कम भएको बताएका छन् । उनका अुनसार अबको २ हप्ताभित्र माथिल्लो तामाकोशीबाट पनि बिजुली उत्पादन सुरु हुनेछ । प्राधिकरणका अनुसार अहिले विद्युत निर्यात बन्द भएको छ । सुख्खा याम भएकाले अहिले आन्तरिक माग धान्न बिजुलीको आयात सुरु गरिएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षमा ३० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिँदा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो ।
The post ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात first appeared on Khabar Breaking.