
सभापति देउवाले पार्टी भित्रै जनाए यस्तो प्रतिवद्धता, कांग्रेसमा खुशियाली
काठमाडौँ पुस १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र दिएपछि सभापति देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।
‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु’, देउवाले भने । कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै उनले तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित, मुस्लि, थारुलगायत सबैलाई नेतृत्वमा अवसर दिइएको प्रष्ट पारे ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए । २४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।