काठमाण्डौं २५ मंसिर । संस्थापन पक्षबाट सभापति पदको दाबी गरिरहेका नेता गोपालमान श्रेष्ठ पछि हटेका छन् । उनको सचिवालयका अनुसार सभापति शेरबहादुर देउवा फेरि सभापति हुने गरी अघि बढेपछि श्रेष्ठ पछि हटेका हुन् ।
देउवाले आज बिहान १० बजेपछि सभापति पदमा मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
नेता श्रेष्ठले देउवालाई पटकपटक सहयोग गरेको भन्दै यसपटक देउवाकै समर्थनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा रहेको बताएका थिए । तर, आफ्नै गृह जिल्ला स्याङ्जामा हालै सम्पन्न पार्टीको अधिवेशनले उनको प्रभाव घट्दो क्रममा रहेको देखाएको थियो ।
अब सभापतिको दाबेदारीबाट पछि हटेका श्रेष्ठलाई देउवाले कुन पदमा व्यवस्थापन गर्लान् टुंगो लागेको छैन । उपपप्रधानमन्त्री समेत भएका श्रेष्ठले पार्टीको उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।