![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी छः अध्यक्ष यादव
फाइल तस्बिर
राजविराज २१ चैत । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म आफनो पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आइतबार शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले जनता समाजवादी पार्टीले मधेसी, मुस्लिम तथा शोषित उत्पीडितको लागि लड्दै आइरहेको बताए । राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी रहेको बताउँदै विभेदमा परेको सम्पूर्ण नेपालीहरूका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइबाट पछि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा भौतिक, योजना तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीवासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गरे । सप्तरीका जनता सदैव सडक, शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित रहेको विषयलाई जसपाले आत्मसात गरेको बताउँदै जसको फलस्वरूप अहिले सप्तरीमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको बताए ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले जसपाले होहल्ला नगरी जनचाहनाअनुसार विकास गरेको र आगामी दिनमा विकासको कार्यलाई प्राथमिकतामा राखेर जनहितमा कार्य गर्ने बताए ।
प्रदेश सांसद मनिष सुमनले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारलाई मत दिई विकास निर्माणको कार्यमा थप तीव्रता दिन आग्रह गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रमअन्र्तगत जसपा अध्यक्ष यादवले आजै सप्तरीमा एकै दिन चार वटा सडक निर्माण योजनाको शिलान्यास गरे ।