
यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन आइतबारदेखि सुरु हुने
काठमाडौं २४ चैत, । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले महाधिवेशनको उद्घाटन काठमाडौँ रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा तथा बन्दसत्र र निर्वाचनको कार्यक्रम भने ललितपुरको गोदावरीमा गर्ने गरी तयारी थालिएको जानकारी दिए ।
महाधिवेशनमा देशभरका सातै प्रदेशका यातायातमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महासंघमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनी आवद्ध छन् । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले महाधिवेशनमा देशभरबाट एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने बताए ।
महासंघको महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।