
माओवादी केन्द्रबाट विभाजित नेता, कार्यकर्ताहरुलाई प्रचण्डले गरे यस्तो आह्वान
काठमाण्डौ ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आह्वान गरेका छन ।
आज पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका हुन ।
प्रचण्डले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकताबद्ध हुनु आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले विगतमा कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउनका लागि नेकपा (एमाले) सँग एकीकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी चिन्तनका कारणले सफल हुन नसकेको बताए । उनले एमालेभित्रका बाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र सङ्घर्ष गर्नुपर्ने पनि बताए ।
अध्यक्ष दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए । विगतमा पार्टी छाडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मूल घरमै फर्किने क्रम बढेको प्रचण्डले बताए ।