काठमाण्डौं २३ मङ्सिर । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ । अर्थ विभागको प्रमुखमा वर्षमान पुन र उपप्रमुखमा विन्दामान विष्टलाई जिम्मेवारी दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा वामदेव क्षेत्री, उपप्रमुखमा कृष्ण आचार्य, उपभोक्ता हित आपूर्ति विभागको प्रमुखमा मातृका यादवलाई जिम्मवारी दिएको छ । उक्त विभागको उपप्रमुखको जिम्मेवारी तोक्न बाँकी रहेको छ । कृषि तथा भूमि सुधार विभागको प्रमुखमा हरिबोल गजुरेल, उपप्रमुखमा पूर्णकुमारी सुवेदी, कोष तथा आर्थिका विभागको प्रमुखमा डोरप्रसाद उपाध्याय र उपप्रमुखमा विमला खतिवडालाई जिम्मेवारी दिइएको छ ।
जलस्रोत तथा सिँचाइ विभागको प्रमुखमा लीलामणि पोखरेललाई जिम्मेवारी दिए पनि उपप्रमुखको जिम्मेवारी तोक्न बाँकी रहेको छ । कानुन न्याय तथा मानवअधिकार विभागको प्रमुख मुक्तिनारायण प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागको प्रमुखमा झक्कु सुवेदी, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा कृष्णबहादुर महरा, उपप्रमुखमा महेश्वर दाहाललाई दिइएको छ । प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ र उपप्रमुख हरिनारायण चौधरीले पाएका छन् ।नेपाल समाचारपत्रमा खबर छ ।