काठमाडौं २ पुष । मदिराले लठ्ठिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कर्मचारीमाथि हातपात गर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० धनन्जय रेग्मी निलम्बनमा परेका छन् ।
शुक्रबार बसेको बोर्ड बैठकले घटनाबारे छानबिन गर्न समिति गरेर समितिको रिपोर्ट नआएसम्म सीईओबाट रेग्मीलाई निलम्बन गरेको हो।
बोर्डले छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ भने तत्काललाई वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।
के थियो घटना
गत कात्तिक २० गते शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिइओ रेग्मी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित बेलायतको कार्यक्रम सकेर नेपाल आएका थिए । फर्कदा सिइओ रेग्मीले भन्सार नियमभन्दा बढी मादक पदार्थ साथमा बोकेर आएका थिए ।
नियमअनुसार १ लिटरभन्दा बढी साथमा मादक पदार्थ लिएर आउनु नपाइने छ । तर, उनले त्योभन्दा बढी मादक पदार्थ साथमा लिएर आएपछि आगमन कक्षमा उनी भन्सार कर्मचारीको चेकिङ परे ।
चेकजाँचकै क्रममा उनले कर्मचारीमाथि हातपात गरेका थिए । पछि उनको स्वास्थ्य चेकजाँच गर्दा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो ।
उक्त घटना घटेको भोलिपल्ट कात्तिक २२ गते मन्त्री प्रेम आलेले सिइओ रेग्मीलाई मन्त्रालयमा बोलाएर केरकार पारेका थिए । तर, चित्तबुझ्दो जवाफ नआएपछि मन्त्री आलेले पर्यटन सचिव तथा बोर्डका अध्यक्ष यादव कोइरालालाई घटनाबारे सत्य तथ्य बुझ्न निर्देशन दिए ।
बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न उपाध्यक्ष उपाध्यक्ष चन्द्र रिजाल संयोजकमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ । अब समितिले उक्त घटनाबारे छानविन गर्नेछ ।