१३ भदौ, काठमाडौं । नेपाली काँग्रेसको पाल्पा काठमाडौ सम्पर्क समितिले काठमाडौमा तीज सांस्कृतिक कार्यक्रमसँगै दरखाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा केही दिन अगाडी वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनु भएकी पाल्पाली चेली रुपा विकलाई बधाईपत्र सहित सम्मान गरिएको थियो ।
सम्पर्क समितिकी अध्यक्ष विमला बस्याल, कार्यक्रमका विशिष्ट अतिथि तथा कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीलगायतले उहाँलाई बधाई पत्र हस्तान्तरण गर्दै कार्यकालको सफलताको कामना गर्नु भएको थियो । सम्मानपछि राज्य मन्त्री विकले कांग्रेसको राजनीतिमा लागेपछि विकट र पछाडि पारिएको समुदायमा जन्मेपनि कुनै न कुनै बेला अवसर पाईने रहेछ भन्ने पुष्टि भएको बताउनु भयो ।
आफ्नो वर्ग तथा समूदायको अधिकार स्थापित गर्ने माध्यम भनेको राजनीति नै भएकाले पछाडी पारिएको वर्ग तथा समुदायका व्यक्तिहरु बझ बढी राजनीतिमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले महिला अधिकार स्थापित गर्न महिलाहरुलाई आफै मेहनेती र सक्षम हुदै राजनीतिमा सक्रिय हुन पनि आह्वान गर्नु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष खिमानन्द बस्याललाई कदर पत्र र हालै विद्यावरिधी हासिल गर्नु भएकी अधिवक्ता डा विष्णुदेवी बस्याललाई सम्मानपत्र सहित बधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा समितिको नयाँ विधान अनुसार साउन १९ गते गठित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु श्रीदेवी देवकोटा, रामचन्द्र चन्द, प्रेम लामिछाने मगर, कल्पना रेग्मीलगायतको सांगीतीक प्रस्तुतीसँगै सहभागीहरु नाच्ने, गाउने गरेका थिए । कार्यक्रममा समितिको निमन्त्रणा अनुसार अन्य पार्टीमा आस्था राख्नेहरु पनि कार्यक्रममा सहभागी भएको समितिका सचिव विष्णु गैरेले जानकारी दिनु भयो ।
The post पाल्पा-काठमाडौ सम्पर्क समितिले गर्यो राज्यमन्त्रीलाई बधाईपत्र सहित सम्मान first appeared on Khabar Breaking.