काठमाडौं ।नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०७९/८० को कम्पनीको वासलात , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण तथा लेखापरीक्षकको नियुक्ति लगायतका विषयमा संचालक समितिका सदस्यहरुबीच छलफल र सुझावसहित पारित गरेको छ।
कम्पनीका अध्यक्ष छविराज पन्तको अध्यक्षतामा आइतबार (२ मंसिर ) काठमाडौंमा सम्पन्न उक्त साधारणसभामा विभिन्न मन्त्रालयका उपसचिव , विज्ञ सदस्य तथा निजी क्षेत्रबाट नेपाल समुन्द्रपार निकासी पैठारी संघबाट प्रतिनिधित्व गर्ने संचालकहरुको उपस्थिति रहेको थियोे । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको नियमावलीमा व्यवस्था भएबमोजिम कम्पनीमा ७ जनाको संचालक समिति रहेको छ।
सभामा कम्पनीका अध्यक्ष पन्तले यस वर्ष महालेखा परिक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण प्रतिवेदन समयमा प्राप्त नभएकोले कम्पनी ऐनले तोकेको समयभन्दा ढिलो साधारणसभा गर्नुपरेको स्पष्ट गरे। अध्यक्ष पन्तले सभामा प्रस्तुत गरेका प्रतिवेदनमा यस वर्ष कम्पनीले रक्सौल गोदाम मर्मत सम्भार गरि प्रयोगमा ल्याइएको , पदपूर्ति मार्फत नयाँ १० जना कर्मचारी भर्ना गरिएको तथा कार्य संचालन र विलिङ्ग सम्बन्धि नयाँ सफ्टवेयर लागु गरिएको लगायतका मुख्य उपलब्धि हासिल गरेको जनाएका छन् । कम्पनीको कारोबार विस्तारको लागि सरकारी निकायहरु बीच समन्वयको नीति अवलम्बन गर्ने तथा भौतिक पुर्वाधार निर्माण , आधुनिक उपकरण र सूचना प्रविधिको प्रयोगलाई बढाउने उनले जनाएका छन् ।
समीक्षा आ.व.मा यस कम्पनीको शेयर पूँजी रु. १,२२,४३,०००/- रहेको छ। आ.व. २०७९/८० मा कम्पनीको कुल नाफा रू. ६,४६,११,०९२।००, बोनस व्यवस्था रकम रू. ५१,६८,८८७।००, आयकर व्यवस्था रकम रू. १,८२,९५,५५३।०० र खुद नाफा रू. ४,११.४६,६५२।०० रहेको जनाएको छ ।
त्यस्तै , आ.व. २०७९/८० सम्ममा कम्पनीले सम्पूर्ण कारोबार अर्थात् आयकर र कर्मचारी बोनस व्यवस्था तथा समायोजन पछिको कुल संचित कोष रू. ५४,७६,४५,६०५।०० रहेको छ । कम्पनीको आ.व. २०७९/८० मा चालु सम्पत्ति रू. ६०,६९,५६,३४४।०० र चालु दायित्व रू. ४,७३,२१,६९१।०० रही चालु दायित्व भन्दा चालु सम्पत्ति १२.८२ गुणाले अधिक रहेको हुँदा कम्पनीको वित्तीय अवस्था सबल रहेको जनाएको छ ।
यस नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले सरकारी तथा गैर सरकारी लगायत निजीस्तरको व्यापार व्यवसाय गर्नेहरूका लागि सुविधाजनक गोदामघरबाट नेपालमा आयात हुने र नेपालबाट निर्यात हुने मालसामानहरूका लागि गोदाम सुविधा प्रदान गर्ने, क्लियरिंग तथा फरवार्डिंगको साथसाथै भन्सार जाँचपास, कार्गो बिमा, सिलछाप लगाउने कार्य गर्दै आएको छ । कम्पनीले वीरगंज, काँकडभिट्टा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगल, गौ.बु.अ.वि., भैरहवा र देश बाहिर कोलकातामा शाखा र कोलकाता शाखा अन्तर्गत हल्दिया तथा राधिकापुर उपशाखा खोलेर आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वको यस कम्पनीमा हाल सबै तहका स्थायी ४४ जना र करार ७६ जना गरि १२० जना कर्मचारी कार्यरत छन् ।
The post नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको १२औं साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.