काठमाडौं । नेपाली चिया बगान, चिया उत्पादक र बिक्रेताहरुको छाता संगठन ‘नेपाल टि एशोसिएसन’ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल मैनालीको सभापतित्वमा पुष २६ गते , शुक्रबार काठमाडौंमा सम्पन्न सभाले चिया उद्योगी र व्यवसायीहरुको हितमा काम गर्नको लागि एउटै संगठन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। हाल चिया क्षेत्रमा विभिन्न ५ वटा संगठन रहेका छन् ।
“चिया उद्योगीहरुको महासंघ बनाउनुपर्ने विचार कतिपयले राख्ने भएपनि एउटै संघ निर्माण गर्नु उचित हुन्छ। महासंघ भएमा फरक-फरक किसिमको उद्देश्य र सोचका संघहरु रहेको सन्देश जान सक्छ। त्यसैले एउटै संघ र एउटै आवाज हुनु प्रभावकारी हुन्छ”, एशोसिएसनका अध्यक्ष मैनालीले कार्यक्रममा भनेका छन् । उनले उद्योगहरुलाई चियाको गुणस्तरमा ध्यान दिनुका साथै चिया बगानलाई उचित मुल्य दिन आग्रह गरे।
उक्त साधारणसभाले एशोसिएसनको आजीवन सदस्य शुल्क रु. १ लाख बाट रु. ५० हजार बनाउने निर्णय गरेको छ।
साधारणसभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। हाल नेपाल टि एशोसिएसनमा १५ वटा भन्दा बढी उद्योगहरु आवद्ध रहेका छन् ।
The post ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड first appeared on Khabar Breaking.