डा डीआर उपाध्याय,
नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न हुँदैछ । शुक्रबार महाधिवेशनको भब्य रूपमा उद्घाटन भयो । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा देखा परे । त्यो पनि एउटै मञ्चमा कांग्रेसले जुराइदियो । विभिन्न राजनीतिक दलका नेता तथा विदेशी पाहुनाहरू कांग्रेसलाई शुभकामना दिन उपस्थित भएका थिए ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले एकले अर्कोलाई गाली गर्नसमेत छोडेनन् । भित्रदेखि बाहिरसम्म मान्छेको भीड थियो । उक्त भीडलाई आफ्नो कुरा राख्न नेताहरूलाई भ्याइनभ्याइ थियो । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट राम्रा र सक्षम नेता चुनिनुपर्छ भन्ने धेरैको भनाइ छ । अबको नेतृत्वमा राम्रा र सक्षम नेता आउन सकेनन् भने जनताले दुःख पाउँछन् ।
नेपाली कांग्रेसमा पनि विभिन्न गुट, उपगुट छन् । प्रजातन्त्र तथा लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति हुनुपर्छ यो राम्रो कुरा हो तर गुट, उपगुटको राजनीति गरेर प्रतिस्पर्धामा उत्रनु पार्टीको हितमा हुन सक्दैन । यस्ता गलत तरिकाले पार्टीलाई बलियो बनाउन सकिँदैन । नेताहरू वैचारिक रूपमा खरो उत्रन सक्नुपर्छ । पार्टी चल्ने भनेको विचारले हो । विचारविनाको पार्टी क्लब जस्तो हुन्छ । पार्टीभित्र वैचारिक स्वतन्त्रता हुनुपर्छ । फरक मत र भिन्न विचारलाई सम्मान गर्न सक्नुपर्छ । साँचो अर्थमा त्यो नै प्रजातन्त्र हो ।
पार्टीभित्रको फरक मत र विचारलाई सम्मान नगरिँदा एमाले विभाजन हुन पुग्यो । नेपाली कांग्रेसमा पनि फरक धारले स्थान पाउनुपर्छ । नेपाली कांग्रेस पुरानो प्रजातान्त्रिक पार्टी हो । इतिहास बोकेको पार्टी हो । यो पार्टीको सबैले सम्मान गर्नुपर्छ । कांग्रेसले यो महाधिवेशनबाट अनेकतामा पनि एकताको सन्देश दिन सफल हुनुपर्छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि गरिएको वडा अधिवेशन, गाउँ÷नगर अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनहरूमा गुट र उपगुट देखापरेका थिए । अझै कतै गाउँ÷नगर अधिवेशन भएको छैन त कतै जिल्ला अधिवेशन रोकिएको छ । यो रोकिनुको कारण गुट नै हो ।
१४औं महाधिवेशनमा गुटहरू सक्रिय छन् । देउवासँग नजिक रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंहले आफ्नै दाबेदारी देखाए । अब नेपाली कांग्रेसमा साँच्चिकै युवा, पेशाकर्मी, श्रमजीवी, बुद्धिजीवीहरूको बाहुल्य रहने र नेतृत्वमा सुधार आउनुपर्छ । अधिवेशनले युवाहरूलाई राजनीतिमा आउने अवसर दिन सक्नुपर्छ । पार्टीलाई बलियो बनाउने हो भने सहमति, सहकार्य र एकताको जरुरी छ । आआफ्नै पकड बनाउने दाउमा नेताहरू लाग्नु हुँदैन ।
यसरी पार्टीलाई फाइदा हुँदैन । अग्रज नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू समेतलाई महाधिवेशनका प्रतिनिधि बन्न दिएनन् । जहाँ जसको पक्ष बलियो, त्यहाँ एकलौटी आफ्ना प्रतिनिधिहरू मात्रलाई निर्वाचित गरे । पूर्वमन्त्रीहरू तथा पूर्वजिल्ला पार्टी सभापतिहरूसमेतले कतिपय क्षेत्रमा हार व्यहोर्नु पर्यो । नेपाली कांग्रेस पुरानो राजनीतिक दल हो । यो दल मुलुकप्रति जिम्मेवार बन्न सक्नुपर्छ । राजनीतिक स्वतन्त्रता र प्रजातन्त्रका लागि लडेको पार्टी हो कांग्रेस । बीपीले देखाएको बाटोमा यो पार्टी अघि बढनुपर्छ ।
नेपाली कांग्रेस पार्टीभित्र राजनीतिक द्वन्द्वका कारण घर–सम्पत्ति गुमाएका, परिवार नै पीडित भएका र जीवन नै संघर्षमा बिताएका व्यक्तित्वहरू छन् । ती व्यक्तिलाई राजनीतिमा अवसर दिनुपर्छ । पार्टीको सिद्धान्त र समाजवादलाई पछ्याउँदै हिँडनेहरू पनि छन् । तिनले अवसर पाउनुपर्छ । यस अधिवेशनले यी सबैलाई सर्वसहमत गराउँदै समेट्ने प्रयास गर्नुपर्छ । केन्द्रको अधिवेशन सुरु हुँदैछ । केन्द्रमा पनि गुट देखिएका छन् । जोडघटाउ गरेर प्यानल बनाउने काम भएको छ । आआफ्ना प्यानलमा बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरू, नयाँ अनुहारको उम्मेदवारी परेको छ ।
चुनावले औपचारिक रूपमै गुटको उद्घोष गरेको पाइयो । नेतृत्वमा जो आए पनि पार्टी सबैको हो । अधिवेशनले सफल नेतृत्व छान्नुपर्छ भन्ने कुरामात्र हो । अवसर नपाएकाले अवसर पाउनु पर्यो । पार्टीमा योगदान गरेकाले ठाउँ पाउनु पर्यो । वडादेखि प्रदेश अधिवेशनसम्ममा अवसर नपाएका पनि छन् । यति बेला वडा तहदेखि चुनावले हार व्यहोर्नु परेका नेताहरूको मनोबल खस्केको पाइएको छ । आफूलाई हार गराएको पक्षलाई जसरी पनि असफल बनाउने अडानमा धेरै कार्यकर्ता लागि परेका छन् ।
१४औं अधिवेशनमा पार्टी नेतृत्वमा ठूलो परिवर्तन आउने आशा धेरैमा छ । किनभने कांग्रेसले आफूलाई समयसँगै परिवर्तन गर्दै लगेको देखिएको छ । धेरैभन्दा धेरै कार्यकर्तालाई पदीय दायित्व दिने उद्देश्यले कार्यसमितिहरूको आकार ठूलो बनाएको छ । पदाधिकारीको तहमा महिला, मधेसी, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, थारू, मुस्लिम, खसआर्य, जनजातिलगायत थपेका छन् । यसले गर्दा पदाधिकारीको संख्या बढेको छ । महिलाको सहभागितामा वृद्धि हुँदै गएको छ ।
केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री आठजना रहनेमा तीमध्ये क्लस्टर विभाजन गरेर एकजना महिला, एकजना थारू, एकजना मधेसी, एकजना दलित, एकजना जनजाति, एकजना खसआर्य, एक जना पिछडिएको वर्ग, एक जना मुस्लिम भनेर विभाजन गरिएको छ । यससँगै केन्द्रीय समितिमा अपांगता भएका वा अल्पसंख्यक एकजना अनिवार्य रहने व्यवस्था छ । यस्तो व्यवस्था अन्य राजनीतिक दलमा छैन । यसले केन्द्रमा सबैको प्रतिनिधित्व निश्चित गरेको छ । नयाँ पुस्ता र युवा, श्रमजीवि, पेशाकर्मी लगायतलाई नेतृत्वमा पुर्याउन सक्नुपर्छ । यसबारे स्पष्ट र दीर्घकालीन सोच हुनुपर्छ ।
महाधिवेशन प्रतिनिधि भएर आएका युवा वर्ग गुटको राजनीतिमा लाग्नु हुँदैन । अबको पुस्ताले आफ्नो नेतृत्वको बाटो आफैं खोल्नुपर्छ । पार्टी, राष्ट्र, राष्ट्रियता, समाजवाद र लोकतन्त्रलाई नै कांग्रेसको मूलमन्त्र हो । यस अधिवेशनबाट देश हाँक्न सक्ने कर्मठ, योग्य, दक्ष र जिम्मेवार नेतृत्वलाई चयन गर्नुपर्छ । अधिवेशनले नेतृत्व चयनमा ध्यान दिनुपर्छ । भोलि पछुताउने काम कसैले गर्नु हुँदैन । संगठनभित्रको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिन सक्नुपर्छ । कुशल, गतिशील र क्षमतावानलाई नेतृत्वमा ल्याउन प्रयास गरिनुपर्छ ।
नेपाली कांग्रेसमा पार्टी सभापतिलगायतका विभिन्न पदाधिकारीमा उमेद्वारको विषयलाई लिएर निकै गम्भीर विवाद भइरहेको छ । विभिन्न गुटउपगुटसहितका प्यानल देखिएका छन् । कांग्रेस पार्टीले यसको व्यवस्थापन गर्न सक्नुपर्छ । आआफ्ना गुट खडा गरेर हारजितको लडाइँ लड्नु राम्रो होइन । गुटको समीकरण चरम सीमामा पुगेको छ । एकले अर्कोलाई ढाल्ने र हराउने चलखेल चलिरहेको छ । जीवनभर पद नछाड्ने बुढा नेताहरू पनि सबै पार्टीमा छन् । प्रजातन्त्र भनेको नीति, विधि र पद्धति हो । नेपाली कांग्रेसले यही नीति, विधि र पद्धति बसाल्ने कोसिस गर्नुपर्छ ।
नेपाली कांग्रेसमा अब नेतृत्व फेरि शेरबहादुर देउवा कि अरू नेतामा भन्ने प्रश्न उठेको छ । पार्टीभित्र लामो समयसम्म योगदान दिएका कुनै नेताको मूल्यांकन छैन । नेता कार्यकर्तालाई समेटेर अघि बढनुपर्ने बेला यो हो । सबै नेताहरूले महाधिवेशन वैचारिक बनाउँदै यसलाई प्रजातान्त्रिक पद्धतिमा लैजानु जरुरी छ । पार्टीमा धेरै नेता कार्यकर्ताले आफ्नो भविष्य नदेखेर राजनीतिबाट हराएका पनि छन् । नेपाली कांग्रेसले यो विषयमा गम्भीर समीक्षा गर्नु जरुरी देखिएको छ ।
पार्टी महाधिवेशन आफैंमा एक राजनीतिक उत्सव पनि हो । देशभरका नेता तथा कार्यकर्ता यस्ता उत्सवमा जमघट हुँदैछन् । उनीहरू आआफ्नो हित र भविष्य यो अधिवेशनमा देख्न चाहन्छन् । तर, नेताहरू भने समस्या समाधानका पद्धति बसाउनुभन्दा आआफ्ना स्वार्थमा छन् । पार्टीभित्र स्वास्थ्य प्रतिस्पर्धा हुनु नराम्रो कुरा होइन । कांग्रेसले स्वस्थ्य प्रतिस्पर्धामार्फत विधि पद्धति र सिद्धान्तलाई आत्मसात गर्नु अत्यावश्यक छ । हिमालय टाइम्सबाट साभार