नेपालमा ‘विश्व युवा महोत्सव’ को आयोजना गरिने
१४ माघ , काठमाडौं । नेपालमा विश्व युवा महोत्सव (वर्ल्ड युथ फेस्टिभल) को आयोजना गरिने भएको छ। विश्वभरका युवाहरुको सहभागिता र अन्तर्कियालाई एउटा ठूलो मंच दिने उद्धेश्यका साथ काभ्रेपलाञ्चोकमा विश्व युवा महोत्सवको आयोजना हुने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पहलमा आगामी चैत १४ देखि १८ गतेसम्म (मार्च २७ देखि ३१ तारिख) युवा महोत्सव आयोजना हुन लागेको हो ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले हरेक वर्ष विश्वका विभिन्न मुलुकमा हुँदै आएको यो महोत्सव यसपटक नेपालमा गर्न लागिएको जानकारी दिए । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि १० वर्षदेखि तयारी गर्दै आएको र अबको डेढ महिना भित्रमा सम्पूर्ण तयारी पूरा गरिने जनाए ।
“नेपाली युवा विदेश जाने मात्रै होइन, विदेशका युवाहरूलाई पनि नेपाल ल्याएर यहाँका अनुपम प्राकृतिक र सास्कृतिक सम्पदा विश्व समक्ष प्रस्तुत गर्न पनि यो महोत्सव आयोजना गर्न लागिएको हो”, गौतमले भने,” देशका युवाहरूमा नयाँ आशा र जागरणको संचार गर्दै नयाँ सम्भावनाको खोजी गर्नु महोत्सवको उद्देश्य हो।” यो देशकै कार्यक्रम भएकाले सबैको सहयोग र सहभागिताको लागि उनले आह्वान गरे।
विश्व युवा महोत्सवको समुद्घाटन काठमाडौं विश्वविद्यालय परिसरभित्र १ लाख युवाको सहभागितामा गरिने र काभ्रेका विभिन्न क्षेत्रमा अन्य कार्यक्रम गरिने उनले प्रमुख गौतमले बताए । सन २०२५ मार्च २७ देखि ३१ सम्म ४ दिनसम्म चल्ने फेस्टिभल आवासिय हुनेछ । ७५ देशका १ हजार युवा र बाँकी नेपालका युवा सहभागी हुँदैछन् । देश विदेशका युवा र अन्य पाहुनाहरु गरी १० हजार जनाको सहभागिता रहने फेस्टिभलका लागि २० करोड रुपैंया खर्च हुने प्रारम्भिक अनुमान रहेको छ ।
महोत्सवमा ५० भन्दा बढी विभिन्न विधाका कार्यक्रमहरु हुनेछन् । महोत्सवमा आजको युवाहरू प्रभावित भएका गहन विषयमा वर्कशप गर्नुका साथै छलफल गरिने आयोजकले जनाएको छ । जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, पर्यटन, राजनीति, नेतृत्वकला , स्थानीय खाना लगायतका विषयमा यस युवा महोत्सवमा बहस हुने आयोजकले जनाएको छ ।
यस महोत्सवले काभ्रेपलाञ्चोक अवको कम्तीमा केही समय विश्वव्यापी युवा सहकार्यको केन्द्रविन्दु बन्ने आयोजकको अपेक्षा रहेको छ । नेपालमा युवाहरूको यस स्तरको अन्तर्राष्ट्रिय महोत्सव पहिलो पटक आयोजना हुन लागेको हो । यसको सफलताले नेपालमा भएका अवसर, दक्षता, चुनौतीदेखि युवाहरूलाई स्वदेशमै भएका सम्भावनाहरु बारे परिचित गराउँदै हौसला प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
महोत्सवको तयारीका लागि काठमाडौं तिलगङ्गा नजिकै पशुपति भिजन कम्प्लेक्समा सचिवालय स्थापना गरिएको छ । ५० जना सदस्य रहेको फेस्टिभल आयोजक समिति निर्माण भएको छ । फेस्टिभल सेक्रेटरीका रुपमा युवा डाक्टर सन्तोष उपाध्याय रहेका छन् ।