
दलीय लोकप्रियता घट्दै
डा डीआर उपाध्याय,
स्थानीय तह निर्वाचनकाको मत परिणाम अन्तिम चरणमा छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको अन्तिम चरणको मत परिणाम सार्वजनिक भइरहँदा यसपाली नेपाली राजनीतिक क्षेत्रमा फरक परिदृश्य देखा परे । आम जनताको मौन विद्रोह देखियो खासगरी ठूला शहरमा । यसले राजनीतिक दलको जग हल्लिएको छ । अब पनि दलहरू इमानदार हुन सकेनन् भने जनताले उचित फैसला गर्दै जाने छन् भन्ने आभाष उनीहरू व्यक्त गरेका छन् आफ्नो अमूल्य मत मार्फत । यो मत परिणामले राजनीतिक दल प्रति जनताको बिश्वास बिस्तारै घटदै गएको अनुमान लगाउन सकिन्छ ।
अब नेपालका राजनीतिक दलहरूले बिगतका गल्तिबाट पाठ सिकेर अघि बढनु पर्ने अबस्था देखिएको छ । यो स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारलाई जनताले रुचाएको देखियो । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न सचेत गराएको छ । त्यसैले अब राजनीतिक दलका नेता सच्चिनु पर्ने देखिएको छ ।
काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरले अगाडि छन् । दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार साह मतमा अघि देखिनु भनेको दलहरूका लागि ठूलो चुनौति हो । धरान उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धन र एमालेका उम्मेदवारलाई धुलो चटाउदै धरानको मेयर बने । यसलाई कसैले पनि समान्य रुपमा हेर्नु हुँदैन ।
जनता हाम्रो मान्छे भन्दा राम्रा मान्छे चुन्न चाहान्छन भन्ने संकेत हो । अहिले दलीय लोकप्रियता निकै घट्दै गइरहेको देखिएको छ । अब दलका नेताहरु गम्भिर बन्नु पर्ने अबस्था छ । केही ठाउँमा स्वतन्त्र उम्मेदवारको जितले राजनीतिक दल र तिनका नेताहरूलाई लाजले मुख छोप्ने बनाएको छ । राजनीतिक दलले यसलाई सामान्य रूपमा लिए भोलीका दिनमा उनीहरूलाई नै समस्या आउने छ ।
स्वतन्त्र उम्मेदवारको जित हुनु भनेको दल विरुद्धको विद्रोह हो । दल र तिनका नेता तथा उम्मेदवारको सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन आउन नसक्नु नै यो समस्या हो । व्यवस्था फेरियो, तर जनताको अबस्था फेरिन सकेन । त्यही भएर जनताले यस्तो फैसला गरेका हुन ।
दलका नेता जनतामाझ लोकप्रिय हुन सकेका छैनन् । अब राजनीतिक दलले समय छँदै विचार गर्नुपर्छ । यदि दलहरूले समय छँदै विचार गर्न सकेनन् भने उनीहरूको राजनीतिक भबिश्य अन्योल हुने निश्चित छ । जनतालाई सेवासुविधा दिन नसक्ने दल र तिनका नेताहरू अब बिस्तारै जनताबाट अस्वीकृत हुने छन् ।
राजनीतिक दलले देश र जनताको पक्षमा काम गर्न नसकेर नै यो स्थिती आएको हो । यसलाई समय छँदै राजनीतिक दलले मनन् गर्न जरुरी छ । अब जनता ढाँटेर ढाँटिने अवस्थामा छैनन् । जनता धेरै सचेत छन् । जनचेतना निरन्तर बदलिँदो छ । राजनीति जनताको पक्षमा हुनुपर्छ ।
राजनीति भनेको समाज सेवा हो । तर, राजनीतिलाई ब्यापार बनाइएको छ । यो नेपालको राजनीतिमा ठूलो समस्या हो । हाम्रा राजनीतिक दलका नेताहरूको चरित्र ठिक छैन । उनीहरूले आफ्नै स्वार्थका लागि राजनीति गरिरहेका छन् ।
यसैको मौन विद्रोह जनताले आफ्नो मत मार्फत गरेका छन् । यदी समयमै दलहरू नसचिने हो भने यसले आउँदा दिनमा अझ व्याप्याकता लिने निश्चित प्राय देखिएको छ । यो दलहरूका गतिविधिले निम्ताएको समयको माग हो ।