
तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा हुनु पर्छः एमालेका नेता फुयाँल
काठमाडौं ८ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ०७९ जेठ ६ गते बिहान १० बजे नै स्थानीय तहको कुर्सीमा नयाँ निर्वाचित जनप्रतिनिधिहरूले शासन गर्न पाउनुपर्नेमा जोड दिए ।
उनले ०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै पहिलो चरणको निर्वाचनलाई कानुनी मान्यता दिने भनिएको जिकिर गरे ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य डा खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पारे । संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने र सत्ता गठबन्धन दलले चुनाव नसार्ने उनको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र महतोले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको भन्दै समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले मुलुकभर ७६१ सभारसरकार रहेको उल्लेख गर्दै ती सरकारबीच अन्तरसम्बन्ध भए पनि सबै स्वायत्त रहेको उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले निर्वाचन नागरिकतन्त्रको ‘कोर–भ्याल्यु’ भएकोले संविधानमा लेखिएको कुरा लागु हुने बताए । अर्का अधिवक्ता डा दिनेश त्रिपाठीले एउटै मितिमा तीनै तहका निर्वाचन गर्न नमिल्ने धारणा राखे ।