
डेरामा बस्नेको हत्या आरोपमा घरभेटी पक्राउ
२५ माघ, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा ३१ वर्षीय माधव विष्टलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विष्ट तानसेन–११, साँचाका हुन ।
विष्टको घरमा डेरमा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो । बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएको बताइएको छ । बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।