काठमाडौं । पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिको लागि अध्यक्षका प्रत्यासी सागर पाण्डे समूहले आइतबार (२ भदौ ) उम्मेदवारी घोषणा गरेको छ ।
सागर पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरे । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङसमेतले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षका प्रत्याशी पाण्डेले पर्वतीय पदयात्रा व्यवसायमा क्रियाशील व्यवसायी र मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने गरी ‘बृहत् टान अक्षयकोष’ निर्माण आफ्नो प्राथमिकता रहेको बताए । उनले पछिल्लो समय स्थानीय तहले जथाभाबी रूपमा मोटर बाटो खन्दा पदमार्गहरू मासिँदै गएकाले त्यसको संरक्षणका लागि आफूले काम गर्ने बताएका छन् । पदयात्रा व्यवसायमा लगाइएको भ्याट समसामयिक नभएको भन्दै त्यसको पुनरावलोकनमा आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।
The post टानको नयाँ कार्यसमितिको लागि सागर पाण्डे समुहको उम्मेदवारी घोषणा first appeared on Khabar Breaking.