६ मंसिर, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । विश्वभरका परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एसिया प्रशान्त क्षेत्रीयस्तरको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो रहेको बताउनु भयो ।
उहाँले विश्व समुदाय र सम्बन्धित संस्थासँग जलवायु परिवर्तनका चुनौतीलाई न्यूनीकरण गर्नका लागि दिगो समाधानका उपाय र प्रविधि हस्तान्तरणलाई अघि बढाउन सहयोगका लागि आग्रह समेत गर्नु भयो । कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताउनु भयो ।
उहाँले उच्च पहाडदेखि तराईसम्मका समुदायले खाद्य सुरक्षा, पानी अभाव र विपद् व्यवस्थापनमा चुनौती सामना गरिरहेको भन्दै जलवायु अनुकुलनका लागि दीर्घकालीन योजना र दिगो विकास नीति आवश्यक रहेको बताउनु भयो ।
मन्त्री ठकुरीले नेपालमा जलवायु परिवर्तनका असर गम्भीररूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदी द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उल्लेख गर्नु भयो ।
The post जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छः ऊर्जामन्त्री खड्का first appeared on Khabar Breaking.