
गठबन्धन फुटाउने ओलीको प्रयास सफल हुन दिन्नौँः माधव नेपाल
फाइल तस्बिर
काठमाडौँ १६ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन । नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन्। आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने उनले दावी समेत गरे। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागिपरेको तर त्यो प्रयास सफल हुन नदिने नेता नेपालले बताए । काठमाडौँमा शनिबार आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन ।
उनले भने, ‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। असारमा गर्ने हो भने सामना गर्न तयार छौं। असोजमा गर्ने हो भने सामना गर्न तयार छौं। स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। चुनावबाट हामी आत्तिएका छैनौं। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं। यस अर्थमा चुनावको कुराबाट बरु अरु आत्तिएका होलान्।’
आज बिहान भएको गठबन्धनको बैठकमा कांग्रेसका सबै नेताहरुले सत्ता गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए।
‘स्वयं प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु। र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनिसकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यकता छैन’, नेता नेपालले थपे, ‘अवश्य पनि नेपाली कांग्रेसभित्र र नेपालको राजनीतिमा देशी–विदेशी शक्तिहरुको अनेक खालका दाउपेचहरु पनि छन्। गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरु पनि छन्। गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरु पनि होलान्। त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफै लागेका छन्। अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिइरहेका छन्। यो कुनै दाउपेचले चल्नेवाला छैन।’
उनले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राखे। उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावीसमेत गरे।
उनले भने, ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबैभन्दा पहिला ध्यानमा राख्नुपर्दछ । संविधानको धारा २२५ मा प्रस्ट लेखेको छ कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भइसकेको समयदेखि ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिनाभित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयोरु भनेर हामीले त्यो समयलाई हेर्नुपर्दछ’, उनले भने, ‘त्यो समयलाई हेर्ने हो भने अब विवाद जतिसुकै भए तापनि असोजको २ गते अन्तिम चुनाव भएको मितिलाई आधार मान्न सकिएला या त्यसको पाँच दिन भनौं ७ गते चुनावको मतगणना भएको दिनलाई जोड्ने हो भने असोजको पहिलो, दोस्रो हप्ता भनेपछि २०७९ सालको असोजको दोस्रो हप्तासम्मलाई मान्न सकिएला र त्यसको ६ महिनाभित्र भनेको चैत्रसम्ममा। यो सवालको बारेमा अनेकौं भ्रम बाहिर पैदा गर्न खोजिएको छ। यो भ्रमलाई चिर्नुपर्ने आवश्यकता छ।’ अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे।