
खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित
३० माघ , काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आज बुधबार कम्पनीका अध्यक्ष विजय मान शेरचनको सभापतित्वमा धुम्रबाराही भेन्यु, धुम्बाराही, काठमाडौंमा सभा सम्पन्न भएको हो।
सभाले समीक्षा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याएको छ।
सञ्चालक समितिको हेरफेर तथा अनुमोदन सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गरेको छ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनी स्थापनाको १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गरको छ। टुंगुन-ठोस्ने ४.३६ मे.वा. र खानीखोला २ मे वा. क्षमताको २ जलविद्युत आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरि टुंगुन-ठोस्ने बाट मिति २०७३ कार्तिक ९ गते देखि र खानी खोलाबाट मिति २०७३ मार्ग २० गतेबाट विद्युत विक्री गरिरहेको कम्पनीले समीक्षा आर्थिक वर्षमा विद्युत बिक्रीबाट रु. १३ करोड १७ लाख भन्दा बढी आम्दानी गरेको जनाएको छ।