

कौटिल्य ग्लोबल स्कूलमा वसन्त मेला- २०८१ को आयोजना
काठमाडौं । काठमाडौंको सुविधानगरस्थित कौटिल्य ग्लोबल स्कूलले वार्षिकोत्सव कार्यक्रम तथा वसन्त मेला- २०८१ सम्पन्न गरेको छ। शनिबार ( २ चैत ) बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कौटिल्य ग्लोबल स्कुल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्ले, बागमती प्रदेश सदस्य सुनिल केसी, एकीकृत उपभोक्ता समितिका अध्यक्ष उज्वल केसी, कौटिल्य ग्लोबल स्कुलका प्राचार्य बी.डी. निरौला लगायतको उपस्थिति रहेको थियो।
कौटिल्य ग्लोबल स्कुलको हाताभित्र भएको वसन्त मेला कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताउँदै भने , “मान्छेको मेरुदण्ड भाँच्चियो भने कुनै काम गर्न सक्दैन। शिक्षा पनि राष्ट्रको मेरुदण्ड हो। त्यसैले विद्यालयमा गुणस्तरीय शिक्षाको जरुरी छ।”
मुख्यमन्त्री लामाले शिक्षा क्षेत्र देशको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण भएको र शिक्षा क्षेत्रमा निजी क्षेत्रका विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले विद्यालयको शैक्षिक प्रगतिमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिलाई उच्च मूल्यांकन गरे।
समारोहमा कौटिल्य ग्लोबल स्कूल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्लेले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको उपलब्धिबारे जानकारी गराएका थिए। अध्यक्ष काफ्लेले एक्कासौं शताब्दीमा विद्यार्थीमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्ने उल्लेख गर्दै विकसित प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे । सोही अनुसारको टेक्नोलोजीमार्फत शिक्षा दिएर विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमताको विकास गरिने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशसभा सदस्य सुनिल केसी र सुना परियारले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै निरन्तर शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेको बताए।
यसैगरी कार्यक्रममा कौटिल्य ग्लोबल स्कूलका प्राचार्य बीडी निरौलाले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले मुख्यमन्त्री बाहादुर सिंह लामाको उपस्थितिलाई विद्यालयका लागि ऐतिहासिक क्षणको रूपमा लिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एकीकृत उपभोक्ता समितीका अध्यक्ष उज्ज्वल केसी, पूर्व अरनीको यातायात समितीका अध्यक्ष केदार क्षेत्री, नेपाली काङ्ग्रेसका यूवा नेता अर्जुन पराजुली, विद्यार्थी, अभिभावक, बुद्धिजीवी लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य सृजनात्मक गतिविधिहरू आयोजना गरेका थिए। यसले विद्यार्थीहरूलाइ प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो। विद्यालयले कार्यक्रममा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी र फुड स्टलको पनि आयोजना गरेको थियो। कार्यक्रममा उल्लेख्य मात्रामा विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका एकाडेमिक डाइरेक्टर टी.एन. भट्ट विश्वामित्रले गरेका थिए।