काठमाडौँ मंसिर २४ । नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन्। कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन्। महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए।
यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिएका थिए।एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिएका थिए। एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका छैनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएको अवस्थामा प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट हुने भएको छ।
नेकपा एमालेका नेता शेरबहादुर तामाङले कांग्रेसका महाधिवेशनमा अध्यक्ष ओली शुभकामना दिन जाने कार्यक्रम रहेको बताए। एमालेका अध्यक्ष ओलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने नीति लिँदै आएका छन्।