
कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाएका छन । नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन ।
ऐनको सन्दर्भमा आएका सुझावहरुका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अबलम्वन गरिने धारणा राखे । उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए ।
उनले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । संघ र प्रदेशको निर्वाचन नजिकिँदै गरेको अवस्थामा यसको तयारीका लागी सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन् । त्यस्तै, कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए ।