
एमाले अध्यक्ष ओलीले दिए यस्तो निर्देशन
काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामहरु लिएर जनतामा जान निर्देशन दिएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे ‘भर्चुअल कार्यशाला’ मा अध्यक्ष ओलीले सम्बोधन गर्दै नेता कार्यकर्ताहरुलाई जनतामा जान निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान निर्देशन दिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।
एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा होमिन पनि ओलीले आग्रह गरे ।
कार्यशालामा प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि जानकारी दिएका थिए । त्यस्तै, मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरेका थिए ।
कार्यशालमा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र एमालेबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए ।