
एउटै झोलुङ्गे पुलमा कीर्तिमानी गीतकार उपाध्यायको गीत छायांकन
काठमाडौं, २३ फागुन । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायले फरक फरक र अनौठा शैलीका कार्य गर्नुहुन्छ । यस्तैमा उहाँको एउटा गीत एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको छ । उपाध्यायको ‘चाँदनी चाँदनी चाँदनी‘’ गीतको भिडियो शनिबार साँखु स्थित झोलुङ्गे पुलमा छायांकन गरिएको हो । उपाध्यायकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा निर्देशन पनि उहाँकै छ । भिडियोमा डीआर आफैँ अभिनय गर्नुभएको छ भने उहाँलाई समृद्धि श्रेष्ठले साथ दिनुभएको छ ।
‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु, तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायांकन फरक शैलीमा गरेको हुँ, एउटै गीत एउटा झोलुङ्गे पुलमा छायांकन भएको विश्वमा छैन’, डा। उपाध्यायले भन्नुभयो । उहाँका अनुसार गीतकार, सङ्गीत, निर्देशन, कलाकार एकैजना र एउटै झोलुङ्गे पुलमा छायांकन गरिएको यो विश्वको पहिलो गीत हो ।
उत्सव दाहालले छायांकन गर्नुभएको गीतको भिडियोमा अनिता ग्वाच्छाको शृङ्गार रहेको छ । छायांकनमा सुनिता खनाल, सुविन गदार, यमबहादुर घर्तीलगायतको सहभागिता रहेको थियो । गीतको भिडियो केही समयपछि डीआर म्युजिक क्रियसनमार्फत् सार्वजनिक गरिने बताइएको छ ।