२६ असार ,काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रका धेरै पक्ष बलिया भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको बताएका छन् ।
मंगलबार (२५ असार ) नेपाल राष्ट्र बैंकसँग नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाँचेको बताए । उनले त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाँच्ने अवस्था नभएको बताए ।
उनले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए । उनले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए ।
उनले घरजग्गा कारोबार,साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे ।
उनले लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताए । उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए ।
अन्तरक्रियामा उद्योगी व्यवसायीले वित्तीय प्रणाली नबिग्रिने तर आर्थिक गतिविधिले प्रश्रय पाउने, साना तथा मझौला उद्योगहरू तंग्रिन सक्ने, ठूला उद्योगहरूले उत्पादन तथा उत्पादकत्व बढाउन सक्ने खालका नीति आगामी मौद्रिक नीतिमा समेट्न सुझाएका छन् । मागमा आएको संकुचनका कारण उद्योगहरूको ऋण तिर्ने क्षमता कम भएकाले मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
‘लगानी प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो, पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र हो । पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्द्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ,’ उनले भने, ‘गत वर्षभन्दा कर्जाको ब्याजदर घटे तापनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेका छन् ।’ अहिले पुराना लगानीकर्ताले समेत लगानी बढाउने र नयाँ व्यवसाय गर्ने आँट गर्न नसक्ने भएकाले मौद्रिक नीतिमार्फत उनीहरूको आत्मविश्वास बढाउनुपर्नेमा ढकालले जोड दिए ।
The post अर्थतन्त्रको वर्तमान अवस्था अनुरुपको मौद्रिक नीति आउँछ: गभर्नर अधिकारी first appeared on Khabar Breaking.