काठमाडौं ६ फागुन । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारूढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको बताएका हुन्।
गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धाराअनुसार एमालेको भूमिका कहाँ हुन्छ सोहीअनुसार भूमिका निर्वाह गरिने उनले भनाइ छ।
उनले भने, ‘अहिले एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो। यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन। यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ।ु
यदि गठबन्धन टुट्ने हो भने त्यसपछि संविधानले व्याख्या गरेबमोजिम व्यवस्थामा जाने पनि उनले बताए। संसदबाट अर्को सरकार बन्ने सम्भावना रहुन्जेल संसद विघटन गर्न भने नपाइने पनि उनले तर्क गरे।
उनले भने, ुसंविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ। त्यसको मतलव संसदमा अर्को सरकार बन्ने सम्भावना हुँदासम्म त संसद विघटन हुन्न भन्या छ। जब यो गठबन्धन टुट्छ भने संविधानको धारा ७६ प्रभावित हुन्छ। धारा ७६ ले जे–जे भनेको छ त्यो–त्यो हुन्छ। धारा ७६ भित्र एमालेको भूमिका जहाँ–जहाँ हुनुपर्ने त्यही–त्यही हुन्छ। तर अहिले हामी त्यसमा लालायित छैनौँ।’
उनले एमसिसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताए। एमालेको मागअनुसार १४ जना सांसदहरूलाई कारबाही गरिनुपर्ने उनले बताए।स्मरणीय कुरा के छ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी ओली सरकारको पर्यटनमन्त्रीबाट राजीनामा दिएर विरोध गर्दै सडकमा आएका थिए। त्यस्तै, उनले ओलीको कदम असंवैधानिक भन्ने समूहमा सहभागी भई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा र सर्वोच्च अदालत परिसरसम्म पुगेर हस्ताक्षरसमेत गरेका थिए। यद्यपि, संसद्मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेलामा एमाले(एमाले भन्दै पछि हटेर मतदान गर्ने समयभन्दा पहिले नै संसदबाट बाहिरिएका थिए।