काठमाडौं पुस ३ । नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्श बमोजिम हुने स्पष्ट गरे । पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।