८ कार्तिक ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले भोलि शुक्रबारदेखि काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारीको पैसा अपचलनमा सभापति लामिछानेको भुमिका नभएको उल्लेख भएपनि सरकारले पुर्वाग्रह राखेर हतारमा पक्राउ गरेपछि रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ।सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै गृहमन्त्री रमेश लेखकको निर्देशनमा गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।
पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।
गौतमले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामी आन्दोलनलाई अब काठमाडौँ केन्द्रित गर्छौँ । पोखराको आन्दोलन आज अन्तिम हो ।’
पोखरामा रास्वपाको प्रदर्शनमा जनस्तरबाट ठुलो समर्थन देखिएको रास्वपाले बताएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।
त्यस्तै , लामिछानेलाई बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । यसअघि कात्तिक ४ गते अदालतले पक्राउ परेकै दिनदेखि लागू हुनेगरी लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की प्रहरीलाई अनुमति दिएको थियो ।
अदालतले दिएको म्याद बुधबार राति सकिएपछि प्रहरीले बिहीबार लामिछानेलाई अदालतमा उपस्थित गराएको हो । आज अदालतले लामिछानेलाई थप म्याद थप्ने वा नथप्ने भन्ने निर्णय गर्नेछ ।
बिहीबार नै सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।
The post सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने first appeared on Khabar Breaking.