काठमाडौं। वीर अस्पतालले आफ्नो १३५औँ स्थापना दिवस तथा वार्षिकोत्सव शनिबार (१२ साउन ) विशेष समारोहको आयोजना गरि मनाएको छ। अस्पतालको वार्षिकोत्सब समारोहमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल , राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल लगायतको सहभागिता रहेको थियो ।
समारोहमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालको इतिहास, सेवा प्रवाहको विवरण, भावि योजनाका बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए।उनले विसं १९४७ साउन १२ गते १५ शैय्याबाट सुरु भएको यो अस्पतालमा अहिले ९६६ शैय्यामा सञ्चालनमा रहेको बताए ।
बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवा र कारोबारलाई पारदर्शी र प्रभावकारी बनाउनु पर्ने बताए। मन्त्री पौडेलले सिमित जनशक्ति, पूर्वाधार र स्रोतका बिचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने अवस्था रहेको भन्दै आवश्यकता जति जनशक्ति नभएपनि सानो नरहेको उल्लेख गरे। ‘हामीले सेवालाई प्रभावकारी बनाउन जरुरी छ। जनशक्ति आवश्यकता अनुसार पूर्ण हो भन्दिनँ। जनशक्ति संख्या सानो हैन, त्यसले मेहनत गर्यो भने ठूलो उपलब्धि हासिल हुन सक्छ’, उनले भने।
उनले नयाँ पूर्वाधार, नयाँ जनशक्ति उत्पादन गर्न केही समय लाग्ने र खर्च बढी लाग्ने भए पनि बनिसकेको पूर्वाधार र तयारी अवस्थामा रहेको जनशक्तिमा थप गर्न थोरै स्रोतबाट समेत सम्भव हुने भन्दै त्यसमा आफूले सहयोग गर्ने बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले वीर अस्पताललाई सहयोग गर्न आयोग सधैं सकारात्मक रहेको बताएका थिए।
त्यसैगरी स्वास्थ्य सचिव डा. रोशन पोखरेलले वीर अस्पताललाई स्वास्थ्यमा आएको कुल बजेटको २.५ प्रतिशत रकम उपलव्ध भएको भन्दै अब नतिजा देखाउने गरी काम गर्न आग्रह गरे। उनले वीर अस्पताल स्वास्थ्य मन्त्रालयको दर्पण हो भन्दै यसलाई सुधार गर्नमा सबै लाग्नु पर्ने बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीरको ऐतिहासिक पृष्ठभूमी र यसमा आएको परिवर्तन दिइरहेको सेवाकाबारेमा जानकारी दिएका थिए।
यस्तै न्याम्सका शिक्षाध्यक्ष डा. लोचन कार्कीले न्याम्स र वीर अस्पतालको सम्वन्धका बारेमा बताएका थिए।
कार्यक्रममा बर्षभरी उत्कृष्ठ सेवा दिएका विभिन्न चिकित्सक, नर्स, प्यारामेडिक्स, अस्पतालका विभाग तथा वार्षिकोत्सबको अवसरमा गरिएका प्रतियोगितामा विजयी टोलीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
The post वीर अस्पतालले मनायो १३५औँ स्थापना दिवस तथा वार्षिकोत्सव first appeared on Khabar Breaking.