समानुपातिक मतपरिणाममा रास्वपाको ऐतिहासिक उछाल

0
3

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणामले नेपाली राजनीतिमा ठूला दलहरूको परम्परागत वर्चस्वमा ठूलो धक्का पुगेको संकेत गरेको छ।

हालसम्म गणना भएको एक करोड छ लाख एकसट्ठी हजार छ सय सन्ताउन्न मतमध्ये करिब आधा हिस्सा रास्वपाले एक्लै प्राप्त गरेको छ। परम्परागत ठूला दलहरूलाई अत्यन्तै भारी मतान्तरले पछाडि पार्दै रास्वपाले समानुपातिकतर्फ स्पष्ट अग्रता कायम गरेको हो। यस परिणामले नेपाली राजनीतिमा नयाँ तरंग र मतदातामा देखिएको परिवर्तनको चाहनालाई प्रष्ट रूपमा देखाएको छ।

प्राप्त मत तथ्याङ्कअनुसार रास्वपाले ५१ लाख ८ हजार ३ सय ८५ मत प्राप्त गरेको छ। यो मत दोस्रो र तेस्रो स्थानमा रहेका प्रमुख दलहरूको कुल मत जोड्दा पनि झन्डै १७ लाखले बढी देखिएको छ। यसले मतदातामा नयाँ राजनीतिक शक्तिप्रतिको विश्वास र पुराना दलप्रतिको असन्तुष्टि दुवैलाई उजागर गरेको विश्लेषण गरिएको छ।

लामो समयदेखि सत्ता र राजनीतिमा वर्चस्व कायम गर्दै आएको नेपाली काँग्रेस भने १७ लाख ३२ हजार ८ सय ११ मतमा सीमित हुँदै दोस्रो स्थानमा खुम्चिएको छ। त्यसैगरी अर्को प्रमुख दल नेकपा (एमाले) ले १४ लाख ४० हजार ९ सय ४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ। यी दुई ठूला दलहरूको जनमतमा आएको उल्लेखनीय गिरावटले मतदातामा बढ्दो निराशा र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणलाई थप बल दिएको देखिन्छ।

मतपरिणामअनुसार चौथो शक्तिका रूपमा नेकपा (माओवादी केन्द्र) देखिएको छ। उक्त पार्टीले ७ लाख ९३ हजार ५ सय ४१ मत आफ्नो पक्षमा पार्न सफल भएको छ। त्यसैगरी ३ लाख ७३ हजार ९ सय २६ मत प्राप्त गर्दै श्रम संस्कृति पार्टी पाँचौँ स्थानमा उभिएको छ।

परम्परागत शक्ति मानिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ३ लाख २८ हजार ४ सय ३३ मतसहित छैटौँ स्थानमा सीमित भएको छ। पछिल्ला वर्षहरूमा राष्ट्रिय राजनीतिक बहसमा सक्रिय देखिए पनि यस निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त गर्न नसक्दा राप्रपाको प्रभाव पनि घटेको देखिएको छ।

यसपटकको समानुपातिक मतपरिणामले नेपाली राजनीतिमा ठूलो संरचनात्मक परिवर्तनको संकेत गरेको विश्लेषकहरू बताउँछन्। लामो समयदेखि नेपाली राजनीति नियन्त्रण गर्दै आएका परम्परागत दलहरू कमजोर बन्दै जाँदा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने सम्भावना देखिएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here