लोकप्रिय गायक मोतिराज खनालको शब्द संगित र स्वरमा मालारानी भजन
काठमाडौं । अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको मालारानी क्षेत्रको महिमा उजागर गर्ने नयाँ भजन “मालारानी” सार्वजनिक गरिएको छ। यस भजनले स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीत र दृश्यको माध्यमबाट प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।
लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको सुमधुर स्वरमा सजिएको भजनमा शब्द र संगीत पनि मोतिराज खनालकै रहेको छ। संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् भने भजन सुमन खनालको परिकल्पनामा तयार भएको हो।
मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यसको म्युजिक भिडियोमा चर्चित कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मिता बुढाथोकीको सशक्त अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका हुन्, जसले मालारानी क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक पहिचान र प्राकृतिक सुन्दरतालाई कलात्मक ढंगले समेटेका छन्। भिडियो सम्पादन बिनोद बोमले गरेका हुन ।
निर्माण टोलीका अनुसार भजन “मालारानी” ले स्थानीय धार्मिक विश्वासलाई उजागर गर्नुका साथै अर्घाखाँची जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। संगीत, दृश्य र सन्देशको संयोजनले यो भजनलाई दर्शक तथा श्रोतामाझ विशेष आकर्षणको केन्द्र बनाउने विश्वास लिइएको छ। गायक खनालका दर्जनौ गीत बजारमा छन । केही समय अगाडि बजारमा आएको सुपा देउराली भजनले पनि चौतर्फी चर्चा कमाएको थियो । खनालले काठमाडौंमा बसेर पनि जिल्लाका मठमन्दिर र पर्यटन क्षत्रमा योगदान दिदै आएका छन ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
