माघ १४ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव हुँदै
काठमाडौं । प्रथम काठमाडौं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाद्वारा आयोजित महोत्सव माघ १४ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठले आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै निजी क्षेत्रमा उत्साह ल्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । व्यापार तथा उद्यमलाई प्रवद्र्धन गर्नका लागि महोत्सव सफल हुने उनको भनाई छ । लघु, साना, मझौला उद्यमलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
रैथाने खानादेखि साँस्कृतिक कार्यक्रमले पनि दर्शकलाई आकर्षित गर्ने संघका महासचिव दुर्गाराज श्रेष्ठले बताए । काठमाडौंलाई संसारभर चिनाउन र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नमा पनि महोत्सव सफल हुने उनले बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडा र काठमाडौंका अन्य स्थानीय तहका रैथाने प्रडक्टहरु पनि महोत्सवमा प्रदर्शनमा राखिने उनले जानकारी दिए । नेपालसहित विभिन्न देशका प्रडक्टहरू करिब २ सय स्टलमा प्रदर्शन गरिने बताइएको छ ।
महोत्सवको प्रिजेन्टरमा एईसीसीए ग्लोबल रहेको छ भने टाइटल स्पोन्सरमा आईडिया फर वल्र्ड र पावर्ड बाइमा सवारी नेपालले साथ दिएको छ । काठमाडौं महानगरसहित अन्य स्थानीय तहको पनि साथ रहेको महोत्सव संयोजक उज्ज्वल जंग शाहले जानकारी दिए । सहप्रायोजकमा श्रीनाथ कलेक्सन, फेसियल हाउस, कजरिया टायल र साल्ट ट्रेडिङले साथ दिएका छन् । महोत्सवमा एक लाख भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको विश्वास छ । महोत्सवमा हरेक दिन विविध साँस्कृतिक कार्यक्रम हुने सहआयोजक राइजिङ नेपाल प्रालिका सञ्चालक पशुपति केसीले सो अबसरमा जानकारी गराए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.