निर्वाचन रोक्न र संसद् पुनःस्थापनाको मागबारे दायर पूरक रिटमा आज सुनुवाइ
९ पुष,काठमाडौँ । निवर्तमान सांसदहरूले आगामी प्रतिनिधि सभा निर्वाचन रोक्न र संसद् पुनःस्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको पूरक रिटमाथि आज सुनुवाइ हुँदैछ । नेपाली कांग्रेसका थप ६५ सहित विभिन्न दलका सांसदहरूको हस्ताक्षरमा दायर रिटका लागि सर्वोच्च अदालतले आजको पेसी तोकेको हो ।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीको वारेसमार्फत दायर रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन रोक्न माग गरिएको छ । रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाइएको छ ।
यसअघि पनि संसद् पुनःस्थापनाको माग गर्दै विभिन्न दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् । हालसम्म १४३ जना निवर्तमान सांसद संसद् पुनःस्थापनाको पक्षमा उभिएका छन् ।
आजको सुनुवाइले मुलुकको आगामी निर्वाचन र संवैधानिक निकासका विषयमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

