नगद र सुनका गहना चोरी गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ
काठमाडौं । नगद र सुनका गहना चोरी गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान करिब १० बजे काठमाडौं महानगरपालिका–स्थित सेतोपुल नजिकबाट प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका–९ का, हाल मैतिदेवी बस्दै आएका ३७ वर्षीय केभव देवान र पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का, हाल रातोपुल बस्ने २६ वर्षीय कमल लिम्बु रहेका छन्।
उनीहरू बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार अवस्थामा फेला परेका थिए। चेकजाँचका क्रममा उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातुको तिलहरी दुई थान र चन्द्रमा एक थान, नगद ४९ हजार ३ सय रुपैयाँ, ११ थान सिरिन्ज, दुई थान एम्पुल तथा एक प्याकेट खुर्सानीको धुलो बरामद गरिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका दुवै जनामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.