दिक्तेलबाट करदाता सेवा कार्यालय हटाउने निर्णयप्रति आपत्ति, एमाले नेतृ उषा कला राईको तत्काल खारेजीको माग
२३ कार्तिक,खोटाङ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा रहेका करदाता सेवा कार्यालयलाई हटाउने निर्णयका विरुद्ध तीव्र असन्तुष्टि जनाइएको छ । नेकपा (एमाले) नेतृ उषा कला राईले सो निर्णय करदाताहरुलाई दुःख दिने, ठग्ने र जनविरोधी कदम भएको बताउँदै उक्त निर्णय तत्काल खारेज गर्न सम्बन्धित निकायसँग माग गरेकी छिन् ।
उनका अनुसार, दिक्तेलमा रहेको करदाता सेवा कार्यालयले जिल्लाका उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई नजिकबाट सेवा दिइरहेको अवस्थामा यसलाई अन्यत्र सार्ने निर्णयको कुनै औचित्य छैन । “यो या त्यो बहानामा कार्यालय हटाउने निर्णय वास्तवमा करदाताहरुलाई फेरि दुःख दिने, ठग्ने मेलो हो भन्न बुझ्न सकिन्छ,” नेतृ राईले भनिन् ।
राईले उक्त कार्यालयलाई निरन्तरता दिनु आजको आवश्यकता भएको बताउँदै दिक्तेलका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकले गरेको मागलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेकी छिन् । “करदाताको हित र स्थानीय सेवाको सहज पहुँचका लागि यो कार्यालय दिक्तेलमै रहनुपर्छ,” उनले जोड दिइन् ।
उनले कर प्रणालीलाई जनमुखी, पारदर्शी र पहुँचयोग्य बनाउन सरकारलाई सचेत गराउँदै स्थानीय जनताको भावनाको कदर गर्न पनि सम्बन्धित निकायलाई अनुरोध गरेकी छिन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.