कांग्रेस विशेष महाधिवेशन बन्दसत्र सुरु
२८ पुस, काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्वसम्बन्धी गहन छलफल हुने भएको छ।
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सुरु भएको हो। सुरुमा महाधिवेशनको कार्यविधि निर्माण गरिनेछ भने त्यसपछि प्रतिनिधिहरूलाई नौ समूहमा विभाजन गरी चार मुख्य विषयमा नीति–मन्थन गरिनेछ।
बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ। नीति–मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा निर्णायक छलफल हुने पोखरेलले जानकारी दिए। यदि नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
पोखरेलले नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेको भन्दै मतदान आवश्यक नपर्न सक्ने संकेत पनि गरेका छन्। यता महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहनेछ।
क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि बिहानै काठमाडौं आइपुगेका छन् र बिहान ८ बजेदेखि दर्ता प्रक्रियामा सहभागी भएका छन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.