कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्छ, विवादले लोकतन्त्र कमजोर हुन्छ: कृष्ण बहादुर खड्का

0
30


काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसका निष्ठावान नेता तथा वरिष्ठ राजनीतिज्ञ कृष्ण बहादुर खड्काले पार्टी अब मिलेर अघि बढ्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। आज खबरब्रेकिंग सँगको कुराकानीमा उनले भावनात्मक एकता बलियो बनाएर अघि बढे विरोधी शक्तिहरू आफैं कमजोर हुने बताएका छन्।

नेता खड्काले नेपाली कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र नै कमजोर हुनु भएको उल्लेख गर्दै कांग्रेसको भूमिकालाई केवल पार्टीको सीमाभित्र नभई मुलुकको लोकतान्त्रिक भविष्यसँग जोडेर हेर्नुपर्ने बताए। “कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भयो भने देश नै संकटतिर जान्छ,” उनले भने।

उनले हालै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भइसकेकाले अब त्यसलाई सबै पक्षले स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए। नेतृत्व परिवर्तनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भन्दै खड्काले यसलाई विवादको विषय बनाउनु पार्टी र देश दुवैका लागि घातक हुने बताए।

आगामी निर्वाचन नजिकिँदै गएको सन्दर्भ उल्लेख गर्दै उनले यस्तो संवेदनशील समयमा पार्टीभित्रको कलहले कार्यकर्ता र मतदातामा नकारात्मक सन्देश जाने चेतावनी दिए। “चुनावको मुखमा पार्टी विवादमा अल्झिनु भनेको आत्मघाती कदम हो,” उनले भने, “कांग्रेस एक ढिक्का भएर अघि बढे बहुमत ल्याउने सामर्थ्य अझै बाँकी छ।”

नेता खड्काले नेपाली कांग्रेस लामो इतिहास, त्याग र बलिदान बोकेको पार्टी भएको स्मरण गराउँदै विगतका संघर्ष र उपलब्धिलाई आत्मसात् गर्दै नयाँ नेतृत्वलाई साथ दिनुपर्ने धारणा राखे। विशेषगरी निवर्तमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वलाई खुलेर स्वीकार गर्दै पार्टीलाई बलियो बनाउने साहस देखाउनुपर्ने बेला आएको उनको भनाइ छ।

उनका अनुसार कांग्रेस अब चलायमान हुनैपर्छ। संगठन सुदृढीकरण, कार्यकर्तामा उत्साह र जनतासँग पुनः विश्वसनीय सम्बन्ध कायम गर्नु आजको मुख्य आवश्यकता भएको उनले बताए। साथै उनले देशमा बढ्दै गएको विदेशी हस्तक्षेप र चलखेलप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसविरुद्ध कांग्रेसले स्पष्ट र सशक्त भूमिका खेल्नुपर्ने बताए।

“विदेशी चलखेल बढेको छ, राष्ट्रिय स्वाधीनता र निर्णय क्षमतामाथि चुनौती देखिन थालेको छ,” खड्काले भने, “अब कांग्रेस जुट्नुपर्छ, राष्ट्रिय हितको पक्षमा डटेर उभिनुपर्छ।”

उनले  पार्टीभित्रका सबै नेता–कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी, लोकतन्त्र र देशका लागि एकजुट हुन आह्वान गरे। कांग्रेसको एकता नै वर्तमान राजनीतिक संकटको समाधान र आगामी निर्वाचनको सफलता भएको उनको निष्कर्ष छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here