कपडा अब आवश्यकता मात्र होइन, पहिचान होः युवा उद्यमी राज कार्की
काठमाडौं। मानव सभ्यताको प्रारम्भिक चरणमा कपडा शरीर ढाक्न, मौसमबाट जोगिन र सामाजिक मर्यादा कायम राख्न प्रयोग गरिने आवश्यक वस्तु मात्र थियो। तर समयसँगै यसको अर्थ र महत्वमा ठूलो परिवर्तन आएको बताउँदै युवा उद्यमी राज कार्कीले आजको युगमा कपडा व्यक्तिको पहिचान र आत्मविश्वाससँग प्रत्यक्ष जोडिएको बताएका छन्।
कार्कीका अनुसार अहिले कपडा केवल लगाउने वस्तु होइन, व्यक्तित्व झल्काउने माध्यम बनेको छ। “मिलाएर लगाएको पोशाकले आत्मविश्वास बढाउँछ, राम्रो फिटिङले व्यक्तित्व निखार्छ र रंग संयोजनले मानिसको सोच तथा स्वभावसमेत प्रतिबिम्बित गर्छ,” उनले भने।
उनले पेशा अनुसारको पोशाकले सामाजिक तथा व्यावसायिक सम्मानसमेत बढाउने धारणा राखे। व्यवसाय, सेवा, शिक्षा वा सिर्जनात्मक क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि पोशाकले पहिलो प्रभाव पार्ने भएकाले यसको छनोट सचेत र सन्तुलित हुनुपर्ने उनले उल्लेख गरे।
राज कार्कीले बदलिँदो फेसन र जीवनशैलीसँगै नेपाली युवाहरूमा आफ्नो पहिचान निर्माण गर्ने चेतना बढ्दै गएको पनि बताए। उनका अनुसार स्वदेशी उत्पादन र गुणस्तरीय डिजाइनलाई प्राथमिकता दिँदै आत्मविश्वास र मौलिकता झल्काउने पहिरन रोज्नु आजको आवश्यकता हो।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
