मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त
८ मंसिर,काठमाडौं । संघीय सरकारको सर्वाधिक शक्तिशाली प्रशासनिक पद मुख्य सचिव अब सुमनराज अर्यालले सम्हाल्ने भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतामा पहिलो स्थानमा रहेका अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
२०७७ सालमा सचिवमा पदोन्नति पाई सरकारी सेवा यात्रामा ‘तथ्यांक विज्ञ’का रूपमा चिनिएका अर्याल केही समयअघि मात्र राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयतर्फ सरुवा भएका थिए। रक्षा सचिवको भूमिकाबाटै उनी अब सरकारी निर्णय संयन्त्रको शीर्षमा उक्लिएका हुन्।
यो जिम्मेवारी अर्यालले एकनारायण अर्यालको स्थानमा लिन लागेका हुन्। उमेरहदका कारण मंसिर १० गते अनिवार्य अवकाशमा जान लागेका एकनारायणले १३ भदौ २०८१ मा मुख्य सचिव पद सम्हालेका थिए। नयाँ मुख्य सचिव सुमनराजको कार्यकाल करिब सात महिनाको रहनेछ।
सरकारी सेवामा प्रवेशपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी), युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालय हुँदै महालेखा नियन्त्रक कार्यालय तथा कोशी प्रदेशका प्रमुख सचिवको भूमिका निभाइसकेका छन्। स्वच्छ छवि र व्यवस्थित प्रशासनिक शैलीका कारण उनी सार्वजनिक प्रशासनमा ‘इमानदार प्रशासक’का रूपमा परिचित छन्।
मुख्य सचिवको प्रतिस्पर्धामा कृष्णहरि पुष्कर, प्रमिलादेवी बज्राचार्य र मधुसुदन बुर्लाकोटी पनि थिए। तर सरकारले वरिष्ठताबाट अर्याललाई नै नियुक्त गर्ने निर्णय गरेको हो।
जोरपाटी काठमाडौं निवासी अर्याल अब संघीय प्रशासनको समन्वय, नीति कार्यान्वयन र सरकारी संयन्त्रको गति निर्धारण गर्ने जिम्मेवारीमा रहनेछन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.