नेपाली जनता दल र जनयुग पार्टी एकीकृत, साह राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्ष सुबेदी

0
29

 

६ मंसिर, काठमाडौं । नेपाली राजनीतिमा नयाँ शक्तिसन्तुलनको संकेत दिँदै हरिचरण साह नेतृत्वको नेपाली जनता दल र नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी औपचारिक रूपमा एकीकृत भएका छन्। राजधानीमा शनिबार भएको विशेष समारोहमार्फत दुवै दलले ‘नेपाली जनता दल’ नाम कायम रहने र चुनाव चिन्ह ‘सिठ्ठी’ रहने सहमतिसहित एकीकरण घोषणा गरेका हुन्।

एकीकरणपछि जारी पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष साहले दुई दलबीच पाँच बुँदे समझदारी भएको जानकारी दिए। सहमति अनुसार ६३ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ, जसमा वरिष्ठ उपाध्यक्षदेखि लिएर उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरू समावेश हुनेछन्। पार्टी संरचना केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म चार तहमा सञ्चालन हुने र सामूहिक नेतृत्व तथा लोकतान्त्रिक प्रक्रियामा पार्टी अघि बढ्ने जनाइएको छ।

कार्यकारी अध्यक्ष सुबेदीले नयाँ पार्टीको सिद्धान्त “नेपाली सभ्यतामा आधारित मौलिक समाजवाद, प्रकृतिवाद र वैज्ञानिक मानवतावाद” भएको बताउँदै जनअधिकार, राष्ट्रियता, अखण्डता तथा सुशासनलाई प्रमुख एजेन्डा बनाइने उल्लेख गरे। उनका अनुसार उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, पूँजी निर्माण र प्रत्येक नागरिकको गुणस्तरीय जीवन सुनिश्चित गर्नु पार्टीको केन्द्रिय उद्देश्य हो।

एकीकरणसँगै जारी गरिएको प्रेस विज्ञप्तिमा हालको राजनीतिक अस्थिरता, व्यवस्था सञ्चालनमा देखिएको कुशासन, भ्रष्टाचार र विभेदकारी नीतिप्रति युवा पुस्ता आक्रोशित भएको उल्लेख गर्दै नयाँ राजनीतिक परिस्थितिको निर्माणमा जेन(जी०) आन्दोलनले निर्णायक भूमिका खेलेको मूल्यांकन गरिएको छ। विज्ञप्तिमा जाति, धर्म, भाषा, लिंग, भूगोल वा अन्य कुनै आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गर्दै समावेशी राजनीतिक अभियान सञ्चालन गर्ने उल्लेख छ।

विदेश नीतिमा पार्टीले पञ्चशीलमा आधारित समानता, अहस्तक्षेप, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा अडिग रहने स्पष्ट पारेको छ। वातावरण संरक्षणदेखि लिएर मानव अधिकार र नेपाली सभ्यताको विकाससम्मका विषयलाई पार्टीले आफ्नो दीर्घकालीन प्रतिबद्धताको रूपमा अघि सारेको छ।

संगठन विस्तारबारे बोल्दै कार्यकारी अध्यक्ष सुबेदीले अहिले करिब ५० जिल्लामा संरचना रहेको बताउँदै प्रतिनिधि सभा निर्वाचनअघि सबै जिल्लामा पार्टी फैलाउने योजना साझा पारे। आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाइने राष्ट्रिय अध्यक्ष साहले स्पष्ट गरे।

राष्ट्रियताका विषयमा दलहरूले साझा धारणा बनाउनेतर्फ ध्यान नदिँदा विदेशी शक्तिहरूले हस्तक्षेप गर्ने अवसर देखिएको टिप्पणी गर्दै सुबेदीले अबका दिनमा राष्ट्रियताको सवालमा सबै दल गम्भीर हुनुपर्ने बताए।

दुई दलको एकीकरणसँगै नेपाली राजनीतिक यात्रामा अर्को नयाँ मोड आएको र आगामी चुनावमा यसको प्रभाव देखिने अनुमान राजनीतिक विश्लेषकहरूले गरिरहेका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here