
एमसीसीविरूद्ध साना वामपन्थी दलहरूले गरे आन्दोलनको घोषणा
काठमाडौँ २४ माघ । साना वामपन्थी दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा भोलिदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । आइतबार एक विज्ञप्तिमार्फत उनीहरूले एमसीसीविरुद्ध देशभर आन्दोलन गर्ने बताएका हुन् ।
‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरूमा हामी अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलन घोषणा गर्ने वामपन्थी दलहरूमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल), मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।
यस्तै सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल पनि उक्त आन्दोलनमा सामेल हुने भएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २५ गते देशैभरि संयुक्त कोणसभा गर्ने, माघ २६ गते काठमाडौँ उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवन अगाडि विरोध प्रदर्शन र देशैभरि सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने लगायतका कार्यक्रम रहेको जनाइएको छ ।