फाइल तस्बिर
काठमाडौं पुस १० । नेकपा (माओवादी केन्द्र)ले भोलिबाट सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि पार्टीमा आकर्षण बढ्दै गएकाले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेल, टोल, वडा, पालिका हुँदै प्रदेशसम्म महाधिवेशनकै रुपमा अधिवेशन भनिएकाले केन्द्रलाई पनि राष्ट्रिय सम्मेलन नभनेर महाधिवेशन भनिएको बताए।
‘हामीले सेलदेखि प्रदेशसम्म अधिवेशन भनेर नयाँ नेतृत्व चयन गर्यौं। त्यो महाधिवेशनकै शैलीमा सबै काम पूरा गरियो। पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण पनि त्यहीअनुरुप गरियो,’ नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने,‘निर्वाचन आयोगले हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान राखेको छ। त्यो प्रावधानलाई समेत ख्याल गरेर महाधिवेशन भन्ने निर्णय भएको हो।’
शनिबार बसेको स्थायी समितिले राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाएपछि आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने पौडेलले बताए। पुनः तत्काल महाधिवेशन गर्ने भनिए पनि तीनवटै निर्वाचन नजिकै आइसकेकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिएको उनले बताए।