निर्वाचन पर्यवेक्षण समिति नेपालद्वारा आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गरिरहेको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक तथा आमनागरिकलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
आज जारी गरिएको विज्ञप्तिमा इओसी नेपालले स्वतन्त्र, स्वच्छ, विश्वसनीय तथा धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराउन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ । गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको उल्लेख गर्दै डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पाइएको भन्दै त्यस्ता गतिविधि तुरुन्त रोक्न सचेत गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “मौन अवधि सुरु भइसकेको अवस्थामा उम्मेदवार वा दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश, भ्रामक सामग्री सेयर गर्ने लगायतका गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुन् । यस्ता कार्यको निरन्तरताले आचारसंहिता उल्लङ्घनका घटना दोहोरिने जोखिम बढाएको छ ।”
इओसी नेपालले विगतका निर्वाचनमा जस्तै यसपटक पनि देशभर दीर्घकालीन र अल्पकालीन गरी सात सय राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको जनाएको छ । अघिल्लो निर्वाचनको तुलनामा सामाजिक सञ्जालको प्रयोग व्यापक रूपमा बढेकाले त्यसको दुरुपयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सूक्ष्म निगरानी भइरहेको जानकारी दिइएको छ । केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोली खटाई विभिन्न सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटनाको अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले निर्वाचन सुरु हुन अब एक दिन र केही घण्टा मात्र बाँकी रहेकाले सम्बन्धित निकायले आचारसंहिता विपरीतका गतिविधि रोक्न कडाइ गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोग र नेपाल सरकारलाई सम्पूर्ण निर्वाचन प्रक्रियाको कडाइका साथ निगरानी र पालना गराउन आग्रह गर्दै सम्भावित सुरक्षा चुनौतीलाई आँकलन गरी सुरक्षा व्यवस्था चुस्त बनाउन समेत आग्रह गरेका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
